विभिन्न मुलुकले आफ्नो देशका नागरिकले अन्य देशमा गर्ने लगानी, एक देशबाट अर्को देशमा हुने पुँजीको प्रवाह र मौद्रिक व्यवस्थाका सम्बन्धमा समेत फरकफरक प्रबन्ध गरेको पाइन्छ । नेपालबाट विदेशमा लगानी गर्न प्रतिबन्धित रहेको छ । नेपालमा चालु खातालाई पूर्ण परिवर्त्यता प्रदान गरिएको भए तापनि पुँजी खातामा त्यस्तो व्यवस्था गरिएको छैन । विश्वभर प्रचलित एवम् सार्वभौम मुलुकले जारी गरेको मुद्रा (जस्तैः अमेरिकी डलर, जापानी येन, बेलायती पाउण्ड आदि) का सम्बन्धमा समेत नेपालमा नियमन/नियन्त्रण गरिएको व्यवस्था विद्यमान छ । नेपाली नागरिकले नेपालभित्र तोकिएको सीमासम्म मात्र नगद विदेशी मुद्रा राख्न सक्ने व्यवस्था छ । साथै, भा.रु. १०० भन्दा ठूला दरका नोटहरु नेपालमा प्रतिबन्धित रहेको हुँदा क्रिप्टोकरेन्सीसम्बन्धी नियन्त्रण/प्रतिबन्ध नेपालको विशिष्ट व्यवस्थाअन्तर्गत रहेको छ ।
संयुक्त राष्ट्र संघअन्तर्गतको निकाय, UNCTAD ले क्रिप्टोकरेन्सी विकासशील राष्ट्रहरुलाई हानिकारक हुने र विकासोन्मुख मुलुकहरुमा क्रिप्टोकरेन्सीको विस्तार रोक्नुपर्ने धारणा राखेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले El Salvador लाई क्रिप्टोकरेन्सीको कानुनी ग्राह्यता खारेज गर्न सुझाव दिएको छ । चीन र भारतमा समेत क्रिप्टोकरेन्सीलाई अन्य विकसित मुलुकमा जस्तो खुला गरिएको छैन ।
साथै, नेपालभित्र कारोबारका लागि नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउनुपर्ने विद्यमान कानुनी व्यवस्था समेतले गर्दा निजी क्षेत्रबाट मुद्राको रूपमा कार्य गर्न सक्नेगरी कुनै वस्तु (दृश्य वा अदृश्य) जारी हुने परिकल्पना गरिएको छैन । प्रचलित नेपाल कानुनले उक्त कार्यलाई दण्डनीय मानेको छ ।
नेपालमा क्रिप्टोकरेन्सी कारोबार प्रतिबन्धित गरिएको छ, तर विश्वका अन्य मुलुकमा खुला रहनुको कारण के हो ?